विराटनगर, ९ असोज । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर–१४ जतुवामा जुवा खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ । बुधबार राति प्राप्त गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा घरधनी ४५ वर्षीय राजेश रञ्जितकारसहित स्थानिय सानु खवास, प्रशान्त थापा र विराटनगर–१६ का कैलाश डंगोल रहेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू रञ्जितकारको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार उनीहरूको साथबाट ८५ हजार ९ सय ८५ रुपैयाँ नगद, तीन वटा मोटरसाइकल र तीन वटा मोबाइल फोन बरामद गरिएको छ । बरामद सामग्रीसहित पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।
यसअघि हिजै मात्र मोरङ प्रहरी प्रमुख एसपी कबिता कट्वालले चाडपर्वको समयमा जुवा तथा अन्य अवैध गतिविधिमा कडाइ गर्ने प्रतिबद्धता जनाएकी थिइन् । त्यसको भोलिपल्टै प्रहरीले ठुलो रकमसहितको समूहलाई नियन्त्रणमा लिन सफल भएको छ ।

प्रहरीले चाडपर्व नजिकिँदै गर्दा यस्ता अवैध क्रियाकलापमा संलग्न नभइ सुरक्षित र शान्तिपूर्ण वातावरण कायम गर्न सर्वसाधारणलाई आह्वान गरेको छ ।
