विराटनगर, १३ साउन– आगामी भदौ १ गते आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्रालाई लक्षित गर्दै विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई सुदृढ बनाउने तयारी गरेको छ। रथयात्राको अवसरमा जलपान, प्रसाद तथा सर्वत वितरण गर्ने परम्परालाई ध्यानमा राख्दै वातावरणीय सरसफाइ सुनिश्चित गर्न महानगरले विशेष योजना अघि सारेको हो।
महानगरको सरसफाइ व्यवस्थापन शाखा प्रमुख पुनम दाहालका अनुसार रथयात्राको क्रममा हुने फोहोर न्यूनीकरणका लागि बिना पूर्वस्वीकृति प्लास्टिक बोतल, गिलास, कप, प्लेट आदि वितरण गर्न नपाइनेछ। “फोहोर व्यवस्थापनमा सहकार्य नगर्ने तथा स्वेच्छाचारी रूपमा प्लास्टिकजन्य सामग्री प्रयोग गर्ने संघसंस्था वा व्यक्तिलाई कारबाही गरिनेछ,” दाहालले स्पष्ट पारिन्।

फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन रथयात्राको दिन महानगरले निःशुल्क सरसफाइ सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यस अन्तर्गत रथयात्रा मार्गमा कुचो, फोहर टिप्ने टोकरी तथा फोहोर संकलन टोली परिचालन गरिने छ।
रथयात्राको क्रममा जलपान वा कुनै कार्यक्रम गर्न चाहने संघसंस्था वा व्यक्तिले साउन ३० गतेभित्र महानगरमा आफ्नो विवरण अनिवार्य रूपमा दर्ता गरिसक्नुपर्नेछ।

महानगरले सबैलाई वातावरणीय संरक्षणमा सहयोग गर्न अपील गर्दै यो अभियानलाई ‘सफा सहर, हरित सहर’ को उदाहरण बनाउने उद्देश्य लिएको छ। अघिल्लो वर्षको सफल व्यवस्थापनलाई आधार मानेर यस वर्ष थप चुस्त रणनीति लागू गरिने जनाइएको छ।
रथयात्रा केवल धार्मिक तथा सांस्कृतिक उत्सव मात्र नभई स्वच्छता र सामाजिक उत्तरदायित्वको प्रतीक बन्ने महानगरको भनाइ छ।
