— राष्ट्र बैंक नेतृत्वमाथि संघको कडा टिप्पणी
काठमाडौं — नेपाल वित्तीय संस्था कर्मचारी संघले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेको विषयलाई लिएर राष्ट्र बैंकको वर्तमान कार्यवाहक नेतृत्वमाथि गम्भीर आरोप लगाएको छ। संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै कार्यवाहक गभर्नर निलम तिम्सिना ढुंगानाले देखाएको ‘लाचारीपन’प्रति चिन्ता व्यक्त गरेको हो।

संघका अध्यक्ष हरिकृष्ण भट्टराई र महासचिव संजिव बखेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, “गभर्नर बन्ने दाबी गरिरहेकी ढुंगाना एक कर्मचारीले दिएको राजीनामा समेत स्वीकृत गर्न नसक्नुले उनको नेतृत्व क्षमतामाथि नै प्रश्न खडा भएको छ।”
वैशाख ५ गते राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले स्वेच्छिक राजीनामा बुझाएका थिए। तर करिब एक महिनापछि पनि सो राजीनामा स्वीकृत नहुनु संघका अनुसार प्रशासनिक अयोग्यता र नेतृत्वहीनता प्रकट गर्ने विषय हो।

संघले उक्त कार्य संविधानको धारा २९, श्रम ऐन २०७४ को दफा १४१, सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम ३५ र नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को समेत उल्लंघन भएको दाबी गरेको छ।
विज्ञप्तिमा स्पष्ट भनिएको छ, “एक स्वतन्त्र कर्मचारीले दिएको राजीनामा अस्वीकृत गर्नुको कुनै संवैधानिक वा कानुनी आधार छैन। यसले केवल व्यक्तिगत स्वार्थ, गुटबन्दी र अनैतिक शक्ति प्रयोगको संकेत गर्छ।”
कर्मचारी संघले राष्ट्र बैंकको कार्यप्रणालीमा पारदर्शिता, जवाफदेहिता र विधिको शासनको पालन हुनुपर्नेमा जोड दिँदै, वर्तमान नेतृत्वले नैतिक तथा कानुनी आधारमा तत्काल निर्णय लिन आग्रह गरेको छ।
