कञ्चनपुर, पुनर्वास — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित विशेष कार्यक्रममा सहभागी हुँदै ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने घोषणा गरेका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्धमा सहादत प्राप्त गरेका सहिदहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको परिवारका लागि रोजगारको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

पुनर्वासको शोभाताल प्राङ्गणमा आयोजित कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँगको भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले सहिदहरूको बलिदान खेर जान नदिने उल्लेख गर्दै देशमा न्याय, सम्मान र समानताको सुनिश्चितताका लागि आफू निरन्तर अग्रसर रहेको बताए। उनले सहिद परिवारका सदस्यहरूलाई सामाजिक, आर्थिक र राजनीतिक रूपमा सशक्त बनाउन आवश्यक कार्यक्रमहरू लागू गरिने प्रतिबद्धता जनाए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले सहिदहरूको सम्झनामा आयोजित उक्त कार्यक्रमलाई ऐतिहासिक मान्दै सरकारद्वारा घोषणा गरिएका कार्यक्रमहरूको यथाशक्य चाँडो कार्यान्वयनको अपेक्षा व्यक्त गरेका थिए।
यस घोषणालाई माओवादी आन्दोलनको मूल्य र उपलब्धिको संरक्षण तथा पीडित परिवारप्रति राज्यको दायित्व पूरा गर्ने दिशातर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
