काठमाडौं, –काठमाडौँ महानगरपालिकाले विद्यालयहरूलाई नेपाली भाषा बोल्नेमाथि जरिवाना नगर्न कडा निर्देशन दिएको छ। केही निजी विद्यालयहरूले अंग्रेजीबाहेक अन्य भाषामा बोल्ने विद्यार्थीलाई सजाय दिने, जरिवाना गर्ने वा मानसिक दबाब दिने गरेको गुनासोपछि महानगरले यस्तो कदम चालेको हो।

महानगर शिक्षा विभागले सार्वजनिक सूचना जारी गर्दै नेपाली भाषामा बोल्न पाउनु विद्यार्थीको मौलिक हक भएको स्पष्ट पारेको छ। “विद्यालयको शैक्षिक माध्यम जे भए पनि दैनिक क्रियाकलापमा मातृभाषा प्रयोग गर्नुमा रोक लगाउन पाइँदैन,” सूचनामा उल्लेख छ, “विद्यार्थीले नेपाली भाषामा संवाद गर्दा कुनै किसिमको दण्ड वा जरिवाना गरिएको पाइएमा सम्बन्धित विद्यालयमाथि कारबाही गरिनेछ।”

यसअघि केही अभिभावकले विद्यार्थीले नेपाली बोल्दा शिक्षक वा प्रशासनले मानसिक दबाब दिने, अतिरिक्त शुल्क तिर्न बाध्य बनाउने जस्ता गतिविधि भएको भन्दै महानगरमा उजुरी दिएका थिए।
महानगरले शिक्षा ऐन, बाल अधिकार सम्बन्धी कानुन तथा संविधानमा उल्लेखित भाषिक अधिकारहरूको उल्लंघन नहुने गरी विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ। महानगरका अनुसार शिक्षा मातृभाषामै लिन पाउने अधिकारलाई विद्यालयहरूले सम्मान गर्नुपर्छ।
महानगरको यो निर्णयले विद्यालयहरूमा भाषिक विविधता तथा मातृभाषा प्रयोगको स्वतन्त्रतालाई संरक्षण गर्ने विश्वास लिइएको छ। साथै, शिक्षाको नाममा बालबालिकाको अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित गर्ने कार्य स्वीकार्य नहुने संकेत पनि दिएको छ।

5l4e2c