भदौ ६, विराटनगर। वीरगञ्जमा हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१९ घुसुकपुरका ३९ वर्षीय संजय साह र बाराका ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई बिहीबार दिउँसो बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला पक्राउ गरिएको हो।

उनीहरूको साथबाट नगद १४ लाख १३ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त रकम वैधानिक स्रोत नखुली हुण्डी कारोबारको प्रयोजनमा प्रयोग भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। हुण्डी कारोबारका कारण वैदेशिक मुद्रासम्बन्धी औपचारिक प्रणाली कमजोर हुने र वित्तीय अपराध बढ्ने भएकाले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कडाइका साथ कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।

