विराटनगर, १९ साउन । कोशी प्रदेशमा शान्ति सुरक्षा सुदृढ गर्न, तस्करी नियन्त्रण तथा चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित आइतबार उच्चस्तरीय सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा बसेको उक्त बैठकमा कोशी प्रदेशका समग्र सुरक्षा अवस्था, विपद् व्यवस्थापन, लागू पदार्थको रोकथाम, र सीमा क्षेत्रको चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विशेष उपस्थितिमा सम्पन्न बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाले प्रदेशको वर्तमान सुरक्षा चुनौती र आगामी रणनीतिबारे जानकारी गराए। उनले सीमा सुरक्षालाई अझ बलियो बनाउन आवश्यक उपायहरूको प्रस्ताव पनि राखे।

बैठकले लागू पदार्थको विक्री–वितरण तथा ओसारपसार नियन्त्रण, सडकमा सुशासन कायम गर्ने, र चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तथा कालोबजारी नियन्त्रण गर्ने कार्ययोजना अघि बढाउने निर्णय गरेको छ।
मुख्यमन्त्री कार्कीले सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रणका लागि सुरक्षा निकायलाई अझ प्रभावकारी ढंगले परिचालन गर्न निर्देशन दिए। उनले चाडपर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनमा तीव्रता दिनुपर्नेमा जोड दिए।

बैठकमा मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसहित सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बैठकमा विराटनगरको रथयात्रालगायत अन्य जिल्लाहरूमा सञ्चालनमा आउन लागेको रथयात्राको सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकालिएको छ।
