विराटनगर, १९ असार ।
इजरायलमा सहायक श्रमिक (केयर गिभर)का रूपमा जान छनोट भएका ६६ जना नेपालीसँग पुनः करार सम्झौताको प्रक्रिया अघि बढेको छ । इरानसँगको युद्धको त्रास कम भएसँगै इजरायल सरकारले सम्झौता पत्र पठाएपछि वैदेशिक रोजगार विभागले सम्बन्धित व्यक्तिहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको हो ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार यसअघि इजरायल–इरान युद्धको कारण सम्झौता प्रक्रिया रोकिएको थियो । तर अहिले अवस्था सामान्य बन्दै गएपछि ६६ नेपाली कामदारसँग सम्झौता गराउने प्रक्रिया फेरि सुरु गरिएको हो ।

विभागले क्रमसंख्या १ देखि ३३ सम्मका उम्मेदवारलाई असार २० गते बिहान साढे १० बजे र ३४ देखि ६६ सम्मका उम्मेदवारलाई असार २२ गते बिहान साढे १० बजे विभागको ताहाचलस्थित कार्यालयमा उपस्थित हुन भनिएको छ । उनीहरूलाई सम्झौता गराई पीआईबीए (PIBA), इजरायलमा पठाइनेछ । साथै भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा समेत विवरण पठाइने जनाइएको छ ।
पहिलो चरणमा ६०० महिला र ४०० पुरुष गरी १,००० जना नेपालीको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये ९२३ जना स्वास्थ्य परीक्षणमा सफल भएका छन् र उनीहरूले पूर्वप्रस्थान अभिमुखीकरण तालिमसमेत लिइसकेका छन् । विभागले अन्य छानिएका कामदारहरूको पनि करार पत्र चाँडै आउने विश्वास व्यक्त गरेको छ ।

यो प्रक्रियाबाट इजरायल रोजगारी पर्खिरहेका नेपाली युवाहरूका लागि आशाको संकेत देखिएको छ ।
