विराटनगर, ७ असार । इरान र इजरायलबीच चर्कँदै गएको तनावका कारण सयौँ अमेरिकी नागरिक इरानबाट बाहिरिएको अमेरिकी विदेश मन्त्रालयको आन्तरिक रिपोर्टले खुलासा गरेको छ। पछिल्ला दिनमा सैन्य तनावको सम्भावना बढेसँगै अमेरिकी नागरिकहरू आफैं पहल गर्दै इरान छाड्न थालेका हुन्।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे विचार गरिरहेको सन्दर्भमा शुक्रबार सार्वजनिक गरिएको अमेरिकी विदेश मन्त्रालयको स्थिति रिपोर्टमा इरानमा रहेका अमेरिकी नागरिकहरू जोखिममा रहेको उल्लेख छ।

हाल इरानमा कति अमेरिकी नागरिक छन् भन्ने यकिन तथ्याङ्क छैन, किनकि अमेरिकी कानुनअनुसार विदेशमा रहेका आफ्ना नागरिकले अनिवार्य रूपमा दर्ता हुनुपर्ने व्यवस्था छैन। यद्यपि रिपोर्टअनुसार हाल इरानमा रहेका केही अमेरिकी नागरिकहरू प्रस्थानका लागि संघर्ष गरिरहेका छन्।
इरानमा अमेरिकाको औपचारिक कूटनीतिक उपस्थिति नरहेकोले उद्धार कार्यमा थप चुनौती रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयकी प्रवक्ता ट्याम्मी ब्रुसले पत्रकार सम्मेलनमा भनिन्, “इरानबाट अमेरिकी नागरिकलाई प्रत्यक्ष उद्धार गर्ने कुनै तत्काल योजना छैन।”

यसैबीच, इजरायलमा भने अमेरिकी नागरिकलाई वैकल्पिक यातायातको व्यवस्था गरिएका छन्। इरानमा रहेका नागरिकहरूको सुरक्षाप्रति अमेरिकी सरकार गम्भीर रूपमा चासो लिइरहेको भए पनि तत्काल सहयोग उपलब्ध गराउन नसकिने स्थिति रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
