“भन्सार यार्डदेखि ट्र्याक बिछ्याउने कार्यसमेत अघि बढ्ने“
विराटनगर, ६ असार – भारतको बथनाहदेखि मोरङको कटहरीसम्म निर्माण भइरहेको कार्गो रेलमार्गको कटहरीस्थित स्टेशन र यार्ड निर्माणको बाटो १५ वर्षपछि खुलेको छ। सर्वोच्च अदालतले मुआब्जासम्बन्धी मुद्दा खारेज गरेपछि अब बाँकी निर्माण कार्य अघि बढ्न लागेको हो।

नेपाल–भारतबीच सन् २०११ मा भएको पारवहन सम्झौता अनुसार भारतले १८.1 किलोमिटर लामो बथनाह–कटहरी रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो। यसको निर्माण भारतीय कम्पनी इरकोनले चार अर्ब भारतीय रुपैयाँमा सुरु गरे पनि कटहरी–१ मा पर्ने ६ बिघा जमिनका २२ जग्गाधनीले मुआब्जा विवाद उठाएपछि स्टेशन र यार्ड निर्माण रोकिएको थियो।
हाल सर्वोच्चले मुआब्जाको दाबी नपुगेको भन्दै मुद्दा खारेज गरेपछि अब बाँकी काम अवरोधरहित रुपमा अघि बढ्ने भएको हो। नेपालस्थित भारतीय दूतावासले इरकोनलाई पुनः निर्माण थाल्न पत्र पठाइसकेको छ भने रेलवे विभागमार्फत परराष्ट्र मन्त्रालयले पनि प्रक्रिया अघि बढाइसकेको छ।

कटहरीमा स्टेशनसहित यार्ड र बुधनगरस्थित कस्टम यार्डदेखि कटहरीसम्म १०.१ किलोमिटर ट्र्याक निर्माणका लागि टेन्डर प्रक्रिया चाँडै सुरु हुने इरकोनका निर्देशक दीपक कुमारले बताएका छन्। उनका अनुसार करिब ७० करोड भारु लागतमा वर्षा सकिएलगत्तै निर्माण कार्य थालिनेछ।
यसअघि सन् २०२३ जुन ८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा बथनाह–आइसीपी खण्डको उद्घाटन गरेका थिए। तर, तेस्रो मुलुकबाट सीमित वस्तु मात्र आयात गर्न पाउने सन्धीका कारण उद्योगी व्यवसायीले निराशा व्यक्त गर्दै आएका थिए।
हाल उद्योगमन्त्री दामोदर भण्डारीले विराटनगर भन्सार यार्डसम्म जुनसुकै औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान रेलमार्फत आयात गर्न बाटो खुलेको आश्वासन दिएका छन्। रेलमार्ग पूर्ण सञ्चालनमा आएपछि ढुवानी लागत ३०–४० प्रतिशतसम्म घट्ने उद्योगी व्यवसायीको विश्वास छ।
