विराटनगर, ४ असार । विराटनगरमा बुधबार दिउँसो एक दर्दनाक सवारी दुर्घटनामा बाबुको ज्यान गएको छ भने उनका छोरा सकुशल बचत भएका छन्। मोरङको विराटनगर महानगरपालिका–३ स्थित पञ्चेश्वर मन्दिर नजिकको भित्री पक्की सडकमा स्कुटरलाई टिपरले ठक्कर दिँदा बाबु सुशील बजगाईंको ज्यान गएको हो।
मोरङ सुन्दरहरैँचा–१२ निवासी ४८ वर्षीय बजगाईं स्कुटरको पछाडि सवार थिए। दिउँसो करिब २ः३० बजेको समयमा उत्तरतर्फ गइरहेको प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई सोही दिशा तर्फ गइरहेको को १ क ९५३ नम्बरको टिपरले ठक्कर दिएको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।

घाइते अवस्थामा रहेका सुशील बजगाईंलाई तत्कालै बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याइयो। तर, गम्भीर चोटका कारण चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।
दुर्घटनालगत्तै टिपर चालक मोरङ कानेपोखरी–३ का ३३ वर्षीय कूलदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्कुटर चालक २० वर्षीय प्रितम बजगाईं सकुशल रहेको प्रहरीले जनाएको छ। मृतक सुशील बजगाईं प्रितमका बाबु रहेको पुष्टि भएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटना टिपर चालकको लापरवाहीका कारण भएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ।
