विराटनगर, १० जेठ– गृहमन्त्री रमेश लेखकले आफू गृहमन्त्रालय सम्हालेयता कुनै गलत कार्य भएको पुष्टि भए राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। शनिबार धनुषामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले उठेका आरोपहरूप्रति स्पष्ट धारणा व्यक्त गरे।
“म आएपछि कुनै गलत काम भएको प्रमाणित भए म राजनीतिमा देखा नै पर्दिनँ,” मन्त्री लेखकले भने, “सबै विषयको निष्पक्ष छानबिन हुन्छ।” उनले सामाजिक सञ्जालमा चलिरहेका टिप्पणीहरूबारे पनि आफू चुप लाग्नुको कारण प्रष्ट्याउँदै जानकारी बटुल्न समय लागेको उल्लेख गरे।

अध्यागमन कार्यालयमा देखिएको अनियमितता प्रकरणमा अख्तियारले छानबिन अघि बढाएपछि गृह मन्त्रालयले कडा कदम चालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका १५ जना कर्मचारीको सरूवा गरिएको छ। तीमध्ये नासुदेखि कम्प्युटर अपरेटरसम्मको समावेश छ।
भिजिट भिसाको नाममा बिचौलियामार्फत रकम असुलेर विदेश पठाउने कार्यमा संलग्न रहेका कर्मचारीको कारबाहीको संकेत दिंदै मन्त्री लेखकले पार्टी र जनताप्रति जिम्मेवार भूमिका निर्वाह गर्ने बताए। “जीवनभर पार्टीको झन्डा निहुरिन दिने काम गरेको छैन,” उनले स्पष्ट पारे।

यसैबीच कांग्रेस नेता शेखर कोइरालाले पनि यदि दोषी पाइए गृहमन्त्री पदबाट राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। छानबिनको माग सशक्त रूपमा उठ्दै गर्दा मन्त्री लेखकले पूर्ण जाँचको प्रतिबद्धता जनाएका छन्।
