विराटनगर, ९ जेठ
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले प्रहरी सहायक निरीक्षक रुद्र बहादुर पराजुलीलाई वैशाख महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ। धनकुटाको इलाका प्रहरी कार्यालय राजारानीमा कार्यरत पराजुलीले ९४६ किलो गाँजासहितको ठूलो तस्करी नियन्त्रणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

गत वैशाख १५ गते चौबिसे गाउँपालिका–५, बोधे नजिक अस्थायी प्रहरी बिट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको संयुक्त टोलीले ना.५ ख ६१५७ नम्बरको ट्रकमा लोड गरिएको गाँजा बरामद गरेको थियो। ट्रकमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाइएको थियो।
कोशी प्रदेश प्रहरीका अनुसार, पराजुलीले विभागीय मूल्य–मान्यता र निर्देशनहरूलाई पूर्ण रूपमा पालना गर्दै उच्च मनोबल, इमानदारी र साहस प्रदर्शन गरेका कारण उनलाई सम्मान गरिएको हो। जनविश्वास बढाउने यस्ता उत्कृष्ट कार्यप्रति प्रहरी संगठनले ‘महिनाको उत्कृष्ट प्रहरी’ मार्फत सम्मान जनाउने परम्परा जारी राखेको छ।

