विराटनगर, ८ जेठ — भारतीय क्रिकेट बोर्डको जुनियर चयन समितिले आउँदो इंग्ल्यान्ड भ्रमणका लागि यू-१९ टोली घोषणा गरेको छ। टोलीको कप्तानी १७ वर्षीय आयुष माहत्रेले गर्नेछन् भने उपकप्तान तथा विकेटकिपरको जिम्मेवारी अभिज्ञान कुन्डुलाई दिइएको छ। टोलीमा सबैभन्दा कम उमेरका १४ वर्षीय वैभव सुर्यवंशी पनि अटाएका छन्, जसले यसअघि यू-१९ तर्फबाट अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका थिए।
आयुष र वैभव दुवैले हालै सम्पन्न आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः चेन्नई र राजस्थानका लागि विस्फोटक सुरुवात दिएका थिए। यद्यपि, दुवै टोली प्लेअफ चरणमा पुग्न असफल भएका छन्।

भारत यू-१९ टोलीले आगामी जुन २४ देखि जुलाई २३ सम्म इंग्ल्यान्ड भ्रमण गर्नेछ। भ्रमणका क्रममा एक वार्म-अप खेलसहित पाँच युवा एकदिवसीय र दुई बहु-दिवसीय खेल इंग्ल्यान्ड यू-१९ विरुद्ध खेलिनेछन्।
