४ जेठ, विराटनगर – जेठ १५ गतेका लागि पूर्वघोषित राजावादी प्रदर्शन हिंसात्मक हुन सक्ने भन्दै नेपाल प्रहरी उच्च सतर्कतामा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले संविधान र व्यवस्था विरोधी गतिविधि बढ्दै गएको भन्दै उपत्यकामा खटिएका प्रहरी प्रमुखहरूलाई तत्काल उच्च सतर्कतामा रहन निर्देशन दिनुभएको हो।
आइतवार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी थापाले संविधानविरोधी तत्वहरूको गतिविधिलाई गम्भीर रूपमा लिएर त्यसविरुद्ध कडा र व्यावसायिक रूपमा प्रस्तुत हुन मातहतका अधिकारीहरूलाई निर्देशन दिनुभयो। उहाँले जेठ १५ गतेको प्रदर्शन हिंसात्मक बन्न सक्ने सूचनाका आधारमा सुरक्षा व्यवस्था थप कडा पार्न आदेश दिनुभयो।

‘संविधान विरोधी गतिविधि कुनै हालतमा सह्य हुँदैन,’ उहाँले भन्नुभयो, ‘प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि नियन्त्रण गर्न प्रहरी तयारी अवस्थामा रहनुपर्छ।’ थापाले जनताको सुरक्षालाई सर्वोपरि मान्दै कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभयो।
उक्त कार्यक्रममा हालै प्रहरी संगठनभित्रै देखिएका अनुशासनहीन घटनाप्रति पनि आईजीपी थापाले गम्भीर चिन्ता व्यक्त गर्नुभयो। हालै नाकढुंगा ट्राफिक पोस्टका प्रमुखले सहायक हवल्दारलाई ड्युटीकै क्रममा झापड हानेको घटनालाई उदाहरण दिँदै थापाले यस्तो व्यवहार संगठनका लागि लज्जास्पद भएको उल्लेख गर्नुभयो।

‘अफिसरले सानो दर्जाका कर्मचारीमाथि सार्वजनिक स्थानमै हातपात गर्नु अत्यन्तै अमर्यादित र अस्वीकार्य हो,’ उहाँले भन्नुभयो, ‘यस्ता गतिविधि दोहोरिन नदिन कडा अनुशासन लागू गरिन्छ।’
थापाले यस्ता अनुशासनहीन कार्यमा संलग्न प्रहरीमाथि निहित प्रक्रियाअनुसार कडाभन्दा कडा कारबाही हुने पनि स्पष्ट पार्नुभयो। उनले संगठनभित्र अनुशासन र मर्यादा कायम राख्न सबै तहका प्रहरीलाई सचेत रहन आग्रह गर्नुभयो।
