नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै गर्दा नेताहरूबीच संशय र आन्तरिक खिचातानी देखिएको छ। बिपी कोइरालाका पुत्र शशाङ्क, गणेशमान सिंहका पुत्र प्रकाशमान, र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्रको पहलमा सुरु भएको छलफलमा अब कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विजय गच्छदार र प्रकाशशरण महतसमेत सहभागी भएका छन्।

बिहीबार बिहान शशाङ्क निवासमा उनीहरू पार्टीको आगामी महाधिवेशन, समिति निर्माण र क्रियाशील सदस्यताको विषयमा छलफल गर्न जुट्नेछन्। नेताहरूले पार्टी नेतृत्व महाधिवेशन ढिला गर्ने रणनीतिमा लागेको भन्दै असन्तुष्टि जनाएका छन्।

सभापति देउवामाथि महाधिवेशन २०८५ मा सार्न चाहेको आरोप छ। महाधिवेशन ढिलाइ भएसँगै युवा पुस्ता नेतृत्वबाट वञ्चित हुने डर उनीहरूलाई छ। यिनै कारणले उनीहरू समयमै महाधिवेशन गराउन दबाब दिइरहेका छन्। यद्यपि, डा. शेखर कोइरालालाई भने यी छलफलहरूमा समावेश गरिएको छैन। कोइराला भने व्यक्तिगत रूपमा भेटघाट र दौडाहामा सक्रिय छन्।
